काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयको प्रवेशद्वार नजिकै सडक भासिएको छ । बिहीबार राति सो सडकखण्डको सडक भासिएपछि अहिले अवातजावत बन्द गरिएको हो ।
दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्डमा ठूलो भ्वाङ परेको छ । स्थानीयका अनुसार, भ्वाङ परेको सडक टुकुचा छोपेर बनाइएको सडक हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि बिहीबर राति परेको सो खाल्डो खाल्डो टुकुचा खोलामाथिको रहेको बताएका छन्।
उनले भनेका छन्,‘यो टुकुचामाथिको बाटो हो । अझै केही घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौं महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केही रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ ।’
यस्तै उनले थपेका छन्,‘सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ । यति त सबैलाई थाहा हुनै पर्छ की, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’