काठमाडौं । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन्। बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्।
हालैको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ। विस्थापित परिवारको अहिले बिचल्ली भएको छ।
पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुन सकेको छैन। बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ।
स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो गरे। आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उनले बताए।