एजेन्सी । अफ्रिकाका केही भागमा एमपक्स (मंकीपक्स) रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ।
डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा समेत व्याख्या गरेको छ।
एमपक्स एक संक्रामक रोग हो, पहिले मन्कीपक्स भनेर चिनिन्थ्यो। अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन्।
अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ। वैज्ञानिकहरूले पनि रोगको द्रुत गतिमा फैलिरहेको र उच्च मृत्यु दर भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र मानिसको जीवन बचाउन सकिन्छ।’