काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रो बसमाथि ढुंगा खसेर लाग्दा दुईजना घाइते भएका छन्।
बुधबार बिहान १०ः३० बजेको समयमा भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोमा ढुंगा खसेर लागेर दुईजना घाइते भएका हुन्।
घाइते हुनेमा माइक्रो बसका यात्रु देवचुली नगरपालिका १३ बस्ने ३० वर्षिय कल्पना परियार र उनकी छोरी ८ वर्षिय कन्चन परियार रहेका छन्।
उनिहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
उनका अनुसार घाइते दुबैजनाको अवस्था सामान्य रहेको छ। माथिबाट ढुंगा खसेर माइक्रोको सीसामा क्षति पुगेको छ। यो सडकखण्डमा बर्षातको समयमा पटकपटक पहिरो जाँदा सडक अबरुद्ध हुनुको साथै सवारी साधन र मानविय क्षति हुँदै आएको छ।