चन्द्रकान्त खनाल
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक रणउजेरिश्वरी भगवती मन्दिरको पुनर्निर्माणको लागि तयार भएको डिपीआरलाई आगामी वर्षको कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ऐतिहासिक रथजात्राको अवलोकन गर्न पाल्पा पुगेका मुख्यमन्त्री आचार्यले रणउजेरिश्वरी भगवती मन्दिर पुनर्निर्माणको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
यस वर्ष प्रदेश सरकारले मन्दिर मर्मतको लागि २० लाख बजेट विनियोजन गरेको छ । यो बजेटबाट मन्दिरको छानो हालिने र अर्काे वर्ष मन्दिरको पुनर्निर्माण गर्न बजेट सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् । पाल्पाको ऐतिहासिक परम्पराले धर्म, संस्कृति, परम्परा तथा इतिहासलाई जोगाइरहेको भन्दै मुख्यमन्त्री आचार्यले रथ यात्रालाई प्रदेश सकारले सांस्कृतिक सहकार्य, भाइचारा र एकताको प्रतीकको रूपमा लिएको समेत उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारले रथ जात्रालाई उत्सवमय बनाउन पाल्पा जिल्लामा सार्वजनिक विदा समेत दिएको थियो । २०८० चैत २० गते लुम्बिनी प्रदेशको प्रदेश राजपत्रमा प्रकाशित सूचना बमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
मुख्यमन्त्री आचार्यले भगवान गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा संसारभर रहेका बौद्ध धर्मावलम्बिहरुलाई एकपटक लुम्बिनी टेकाउन मात्र सकेमा प्रदेशको समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रदेश भित्र रहेका प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताहरुलाई प्रचार–प्रसार गर्ने विषय पनि सरकारको प्राथमिकतामा परेको जनाएका छन् ।
गौतमबुद्धको घर, जन्मस्थल र मावली क्षेत्रलाई समेटेर बुद्ध सर्किट निर्माण गर्ने, लुम्बिनी हुँदै पाल्पा, पवित्र रुरु क्षेत्र, रेसुंगा, पाणिनी तपोभूमि, सुपादेउराली, स्वर्गद्धारी, दाङको धारापानी र बाह्रकुने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्रदेशमा रहेको एक मात्र हिमाली जिल्ला रुकुमको पुथा हिमाल र रोल्पाको युद्ध संग्राहलय जस्ता ऐतिहासिक, महत्व र सौदन्दर्यता बोकेका क्षेत्रलाई लुम्बिनीसँग जोडेर आवश्यक पूर्वाधारको विकासमा सरकारले ध्यान दिने उनाको भनाइ थियो ।
यस्तै मुख्यमन्त्री आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिले समग्र प्रदेशको धार्मिक, सांस्कृतीक, सम्पदाहरुको संरक्षण, विकासमा महत्वपूर्ण योग्दान पुगेको, देशको ध्यानाकर्षण गर्न सफल भएको बताए ।
पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार पाल्पा आएका राष्ट्रपति पौडेललाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका थिए । राष्ट्रपतिलाई जनस्तरबाट समेत भब्य स्वागत गरिएको थियो ।
विश्वको भू–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यवादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सव स्वरुप सो जात्रा निकालिँदै आएको छ ।
तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्व र जात्राको रुपमा परिचित छ ।
कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रुपमा सञ्चालन गरिँदै आइएको छ ।
यस्तै मुख्यमन्त्री आचार्यले रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा शुभकामना सन्देश जारी गर्दै सबै समुदाय विशेषले मनाउने चाड, पर्व, रितिरीवाज, परम्परा, धार्मिक मान्यताहरुलाई बराबर सम्मान गर्ने बताएका छन् ।
‘सामाजिक रुपान्तरणका साथै जागरण र चेतना बृद्धिमा मौलिक परम्पराहरुको आ–आफ्नै भूमिका छन् । समाज विकास संग यि परम्परा जोडिएका छन्’उनले भनेका छन्,‘प्रदेश सरकारले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थल तथा परम्परालाई समृद्धिसँग जोड्न चाहन्छ ।’