चन्द्रकान्त खनाल
रुपन्देही । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरुले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि पूर्व मुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको वरिष्ठ शाखा अधिकृत देवीराम भण्डारीले जानकारी दिए ।
भदौ २० गते बिहीबार मुख्यमन्त्री कार्यालयमा चालक मार्फत पूर्व मुख्यमन्त्री केसीले गाडी फिर्ता गरेका थिए ।
भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व बिशिष्ट व्यक्तिलाई दिदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले फजुल खर्च घटाउने योजना बनाए अनुसार पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताएका थिए ।
वि.सं. २०७९ भदौ ३१ गते बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।
यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिँदै आएका थिए । पूर्व विशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा पाउने गरेका थिए । आर्थिक संकट निम्तिएको समयमा मितव्ययीता अपनाउनको लागि पूर्व विशिष्ट व्यक्तिहरुलाई दिँदै आएको सेवा सुविधा फिर्ता गर्ने निर्णय वर्तमान प्रदेश सरकारले गरेको हो ।
पहिलो प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले पनि पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा अन्तर्गत सरकारी गाडी प्रयोग गर्दै आएका छन् ।
पूर्व सभामुख घर्तिले प्रदेश सभाका सचिव दुर्लभकुमार पुनलाई आफुले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने बारेमा जानकारी गराएका जनाइएको छ ।