काठमाडौं । मोतिदेवी स्मृति केन्द्र काठमाडौंको आयोजनामा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय स्तरमा वातावरण तथा जलवायु परिवर्तन सचेतना अभियान अन्तर्गत केन्द्रले डिभिजन वन कार्यालय काठमाडौंको सहयोगमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको हो ।
काठमाडौं उपत्यकाका २५ विद्यालयका ५० जना विद्यार्थीहरुको सहभागीता रहेको प्रतियोगितामा शान्ति निकुञ्जकी शुष्मा श्रेष्ठ पहिलो, पद्मोदय माविकी मोनिका कुमारी दोस्रो, विश्व निकेतनकी अथरोजा नौसिन तेस्रो र नेपाल आदर्श स्कूलका एमडी एहेसान अलि सान्तना भएका छन् ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तनालाई क्रमशः नगद २० हजार, १५ हजार, १० हजार, ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
केन्द्रकी सदस्य शुष्माराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उद्यमी शान्ति चड्डाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चड्डाले वातावरणबारे जानकारी गराउन विद्यालय स्तरमा यस्ता कार्यक्रम आयोजना गरिएको भन्दै केन्द्रलाई धन्यवाद दिएकी थिइन् । उनले अहिले जलवायु परिवर्तन नेपाल लगायत विश्वमानै जल्दोबल्दो समस्या रहेको भन्दै विद्यालय तहबाटै यस्तो कार्यक्रमले वातावरण जोगाउन थप टेवा पुग्ने बताइन् ।
कार्यक्रममा केन्द्रकी अध्यक्ष अष्टलक्ष्मी शाक्यले जलवायु परिवर्तन र वातावरण जोगाउन केन्द्रले विद्यालय स्तरदेखि नै काम गरिरहेको बताइन् । उनले विद्यार्थीलाई वातावरणबारे सचेत बनाएमा वातावरण संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् । यस्तै जलवायु परिवर्तन रोक्न राज्यका हरेक निकाय एक भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा केन्द्रकी सदस्य डा. विन्दा पाण्डे, नेकपा एमालेका केन्द्रीय सदस्य अनन्त श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री एवम् केन्द्रका सदस्य केशव पोखरेल, वन डिभिजन कार्यालय काठमाडौंका डिएफओ पुष्पराज बड्तौला, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्या सुन्दर शाक्य, काठमाडौं वडा नं.१३ का उपाध्यक्ष रामबाबु कोइराला, केन्द्रकी सचिव ममता गिरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले वातावरण जोगाउन सबैले हातमालो गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण उपसचिव शंकर महर्जनले गरेका थिए ।