काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकल नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको लागि यसअघि २०७१÷७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएकोमा अब परिवर्तन गरी यो वर्षबाट २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको छ ।
राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्यभार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरेको बताएको छ । पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा
हटाउनुपरेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । उनले परिवर्तन गर्न खाजेका कुराहरु अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तरको प्रक्रिया भएको बताए । उनले उपभोक्ता मूल्य सूचकांकमा केही तल माथि भए आगामी दिनमा सुधार गर्दै लैजाने बताए ।
उनले उपभोक्ता मूल्य सूचकांक मार्केट सेन्टरहरु बढेर गएका, ५० जिल्ला मात्रै समेटिएकोमा अहिले सबै जिल्ला समेटिएको भएको बताए ।
उनले ४९६ वस्तुहरुको मूल्य संकलन गरिने भएपनि अहिले ५२५ पुर्याइएको बताए । संघीय संरचनाअनुसार तथ्यांक संकलन गर्न आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकांक गणनामा परिमार्जन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रिय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो । राष्ट्र बैंकका अनुसार १ लाख २ हजार भन्दा बढी मूल्यका भार अंकसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकांक निकालिन्छ । ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक निकालिने गरेको जनाएको छ ।
कार्यक्रममा डेपुटी गभर्नर बम बहादुर मिश्रले आइएमएफको स्टान्डर अनुसार नै नयाँ मूल्य सूचकांक ल्याइएको बताए ।
नयाँ मूल्य सूचकांकले नेपालको मुद्रास्फीति थप अनुमानयोग्य हुने र अनुसन्धानकर्ता तथा यसको प्रयोगकर्ताका लागि उपयोगी हुने राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।