काठमाडौं । नेकपा एमालेले संगठनात्मक अराजकताले संगठनलाई झन् कमजोर बनाउने भन्दै त्यसलाई त्याग्नुपर्नेमा जोड दिएको छ ।
असोज १० र ११ गते ललितपुर च्यासलमा आयोजित अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकमा सो विषयमा जोड दिइएको हो ।
बैठकमा एमाले उपमहासचिव तथा स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले पार्टी भित्र व्यक्तिवादी चरित्र हावी हुँदा अराजकता बढेको बताए । उनले भने, ‘अहिलेको हाम्रो मुख्य समस्या भनेकै अराजकता हो । विधिमा नचले पार्टी बन्दैन नेताहरुमा सामूहिक हित भन्दा व्यक्तिवादी चरित्र हावी भएको छ । गएको निर्वाचनमा त्यसै प्रवृत्तिले सोचे जस्तो परिणाम आउन सकेन ।’
पार्टी भित्रका आन्तरिक कुरालाई संगठनमा छलफल गर्नुभन्दा सामाजिक सञ्जालमा पोख्ने प्रवृत्ति बढेको र पब्लिक फिगरले परामर्श बिना बोलिदिने गर्नाले पार्टी विरुद्ध गलत भाष्य निर्माण गर्न बाह्य तत्वलाई सहज भएको उनको भनाइ छ ।
नेता ज्ञवालीले एमालेको दशौं महाधिवेशनले पारित गर्ने कार्यदिशाका बारेमा चर्चा गर्दै अदेशको ग्रामिण अर्थतन्त्र महिलाको हातमा रहेकाले त्यसलाई ध्यानमा राखेर अनेमसंघले पनि आगामी कार्यदिशा बनाउनु पर्ने सुझाव दिएका छन् ।
यस्तै बैठकको दोस्रो दिन महासचिव शंकर पोखरेलले पार्टीमा संगठनात्मक एकता आवश्यक रहेको बताए । उनले संगठनात्मक एकताले नै पार्टीमा देखिएका चुनौतीलाई समाधान गर्न सकिने उल्लेख गरे।
महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन सबै तहका पार्टी संगठनका नेता कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने र यसका लागि पार्टी नेतृत्व आवश्यक सहजीकरण गर्न तयार रहेको धारणा राखे।
पार्टीलाई निर्णायक शक्ति बनाउनका लागि वार्षिक कार्यतालिकामा तर्जुमा गरी पाटी गतिविधिलाई टोलटोल र बस्तीबस्तीसम्म लैजान आवश्यक रहेको उनको भनाइ थियो। महासचिव पोखरेलले यसवर्ष पार्टीले ४० वर्ष मुनिका युवालाई लक्षित गरेर युवा शिखर सम्मेलन गर्न लागेको समेत जानकारी दिए।
राजनीतिक स्थायित्व हुनेगरी संविधान संशोधन, सरकारको स्थायित्व र आर्थिक अवस्था सुदृढीकरणका लागि नेपाली कांग्रेससँग मिलेर सरकार बनाउनु परेकाले सोहीअनुसार बुझ्न र बुझाउन उनले आग्रह गरे। उनले ठूला पार्टी मिलेर सरकार बनाउने कुरा उचित नभए पनि राजनीतिक स्थायित्वका लागि मिल्नुपर्ने अवस्था आएको बताए ।
बैठकमा अनेमसंघकी अध्यक्ष टुकाभद्र हमालले अनेमसंघको अबको कार्यदिशा संगठन विस्तार रहेकाले वडा र टोल स्तरसम्म महिला सदस्य बढाउन बैठकमा सहभागी नेताहरुलाई निर्देशन दिएकी थिइन् । उनले नेकपा एमालेको आगामी निर्वाचनको मिशन ८४ अभियानमा महिला उम्मेदवार ५० प्रतिशत पुर्याउन एमालेको कुल सदस्य संख्यामा आधा महिला महिला सदस्य पुर्याउनुपर्ने लक्ष्य लिएको बताइन् ।
अनेमसंघले आगामी निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार बनाउने नीति सहित अभियान शुरु गरेको छ । उनले जिल्ला, पालिका र वडाहरुमा पार्टीका महिला सदस्यहरुको रेकर्ड राखेर केन्द्रमा पठाउन निर्देशन दिइन् । केही जिल्लाहरुबाट महिला सदस्य संख्याको डाटा केन्द्रमा आइसकेको जानकारी पनि गराइन् । बैठकमा अमेमसंघकी महासचिव पेम्वा लामाले समसायिक प्रस्तावहरु प्रस्तुत गरेकी थिइन् । बैठकमा अनेमसंघ इन्चार्ज सीता पौडेल, पदाधिकारीहरुसहित देशभरबाट केन्द्रीय सदस्यहरु सहभागी भएका थिए ।
बैठकमा आगामी कार्ययोजना निर्माण र सचिवालयले गरेका निर्णय पारित गरिएको छ । दुई दिनसम्म चलेको बैठकमा पार्टी र जनसंगठन बीचको अन्तरसम्बन्धका विषयमा समेत चर्चा भएको थियो ।