काठमाडौं । गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ। शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्वरको बस हालसम्म पनि सम्पर्कमा आएको छैन।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बस बेपत्ता भएको पुष्टि गरे। उनले बस धादिङको खानी खोलासम्म पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।
मुग्लिनसम्म पुग्दा बसमा एक जना यात्रु र तीन जना स्टाफ गरी कुल चार जना सवार थिए। बस सम्पर्कविहीन भएको भनी खवर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
खोजी कार्यका लागि आवश्यक समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए। हराएको बसको खोजी कार्यमा सहयोग गरिदिन प्रालिले आग्रह समेत गरेको छ।
यता धादिङ जिल्लाको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा केही भाग देखिएको छ । थप विवरण आउन बाँकी छ ।