काठमाडौं । अखिल नेपाल महिला संघ(अनेम संघ)ले विपद् व्यवस्थापनमा सरकारको तर्फबाट हुनुपर्ने पूर्व तयारीको अभाव देखिएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ ।
संघकी अध्यक्ष टुकाभद्र हमालले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएकी हुन् । असोज १० गते बिहीबारदेखि लगातार परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकासँग अन्य जिल्लाहरुको सम्पर्क विच्छेद भएको छ ।
सवारी साधन पहिरोले पुरिएको र सडक भत्किएका कारण यात्रुहरु अलपत्र परेका छन् ।
हवाई सेवा समेत अवरुद्ध भएकाले अत्यावश्यक कामका लागि नागरिकहरु एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न कठिनाइ भएको छ । बढी पहिरोमा परी मुलुकभर एक सय ४८ जनाको मृत्यु भएको छ भने अझै ५५ जना बेपत्ता भएका छन् ।
बाढी पहिरोको सबैभन्दा बढी काठमाडौं उपत्यका र कोशी प्रदेशमा प्रभाव परेको छ । काठमाडौं उपत्यकामा मात्र शनिवार साँझसम्म ४८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । उपत्यकामा २२५७ भन्दा बढी घर डुबानमा परेका छन् । यहाँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, धोबीखोला, बल्खु र नख्खु खोलामा बाढी आउँदा किनारमा रहेका बस्तीहरु प्रभावित भएका छन् ।
मुलुकमा आएको यो प्राकृतिक विपत्तीका कारण ठूलो धनजनको क्षति भएको छ । प्राकृतिक विपत्तीमा परी ज्यान गुमाएका नागरिकहरु प्रति अनेमसंघले श्रद्धाञ्जली अर्पण गरेको छ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घरबार विहीन भएकाहरुलाई उचित व्यवस्थापनको लागि संघले सरकारसँग जोडदार माग गरेको छ ।
पूर्व तयारी नभएको र विपद व्यवस्थापनका लागि आवश्यक उपकरणहरु पनि प्रयाप्त मात्रामा नभएका कारण उद्धारमा खटिएका सुरक्षाकर्मी र सर्वसाधारणले समेत अप्ठेरो अवस्थाको सामना गर्नुपरिरहेको संघले जनाएको छ ।
संघले सिमित श्रोत साधनका बाबजुद पनि आफ्नो ज्यान जोखिममा राखेर बाढी प्रभावितहरुको उद्दारमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सर्वसाधारणहरुप्रति हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गरेको छ ।
संघले भनेको छ, ‘विपद व्यवस्थापनका लागि सरकारको तर्फबाट हुनुपर्ने पूर्व तयारीको अभावले गर्दा उद्धारमा खटिएका र सर्वसाधारणको ज्यान जोखिममा परेको छ । जसले गर्दा हरेक वर्ष वर्षातमा बाढी पहिरोका कारण नागरिकले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ । दशैं, तिहार लगायतका चाडपर्वको पूर्वसन्ध्यामा आएको विपत्तीले नागरिकको जीवन कष्टकर हुने देखिन्छ भने अर्कातिर कालो बजारी बढ्दा नागरिक महंगीको मारमा पर्ने अवस्था छ । साथै, वर्षाको भेलमा आउने फोहोरका कारण नागरिकहरुको स्वास्थ्यमा समस्या उत्पन्न हुने प्रवल सम्भावना छ ।’
विपत्तीको समय सुत्केरी महिला, नवजात शिशु र बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर तत्काल स्वास्थ्य उपचार, उद्धारका साथै जीवनयापनका लागि आवश्यक सहयोग गर्न र किशोरी तथा महिलाहरु हिंसामा पर्न सक्ने संवेदनशिल अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सुरक्षाको प्रवन्ध मिलाउनका लागि संघले सरकारसँग जोडदार माग गरेको छ ।
त्यसैगरी कालोबजारी रोक्नका लागि अनुगमन संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्न र खाद्यान्नको गुणस्तरियता लगायतका विषयमा कडा निगरानीका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।
नागरिकको नैसर्गिंक अधिकार प्रत्याभूति हुनेगरी स्वच्छ खानेपानी, खाद्यान्न, लत्ताकपडा, आवास लगायत दैनिक उपभोग्य सामग्रीको सहज आपूर्तिका साथै मानसिक र शारीरिक स्वास्थ्यको उचित व्यवस्था अविलम्ब मिलाउन संघले माग गरेको छ ।,
अनेमसंघ, विपत्तिको समयमा सबै स्थानीय तहका साथै प्रदेश र संघिय सरकारले यथाशिघ्र उद्धार, राहत र आवासको व्यवस्था गर्न र जनपरिचालन गरी पानी सफा गर्ने, पानीको श्रोत सफा गरी स्वच्छ पानीको व्यवस्थापनको लागि सर्वसाधारणलाई जानकारी दिने व्यवस्था मिलाउने विशेष ध्यान पुर्याउनु आवश्यक कदम चाल्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ ।
साथै, समाजका विभिन्न क्षेत्रमा कार्यरत संघ–संस्थाहरुलाई पनि आवश्यक सहयोगका लागि हार्दिक आह्वान गरिएको छ । अनेमसंघका सबै संरचना र सदस्यहरुलाई आ–आफ्नो क्षेत्रबाट विपदमा परेका जनताहरुको सहयोगका लागि सक्रिय हुन आह्वान गरेको छ ।