काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२६ को लागि डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन आज रातिदेखि खुल्दैछ । असोज १६ गते राति ९ः४५ बजेदेखि खुला हुने डीभी आवेदनको म्याद कात्तिक २० गतेसम्म दिन सकिनेछ।
काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति निकालेर आवेदन निःशुल्क भएको जनाएको छ। दूतावासले आवेदनका लागि परामर्शदाताको आवश्यकता नपर्ने भएकाले अरूको परामर्श नलिन पनि सुझाव दिएको छ। बरु, आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन सुझाएको छ।
आवेदन फारममा श्रीमान/श्रीमति तथा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य रहेको छ। डीभीका लागि हालसालै खिचिएको फोटो आवश्यक भएको जनाइएको छ। विगतमा डीभी भर्न राहदानी आवश्यक पर्ने गरेको थियो। अहिले भने राहदानी विना नै डीभी भर्न सकिन्छ।
डीभी परे नपरेको जानकारी २०८२ वैशाख २० गतेपछि प्राप्त हुने जनाइएको छ।