काठमाडौं । उमेरहद विवाद चरमोत्कर्षमा पुगेपछि नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र स्थगन गरिएको छ । बन्दसत्र असोज १६ गते आजका लागि लाई स्थगन गरिएको अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
अब बन्दसत्र असोज १७ गते बिहान १० बजे पुनः सञ्चालन गरिने अध्यक्ष मण्डलले जनाएको छ ।
क्रान्तिकारीको सम्मेलन असोज १० गते उद्घाटन भएको थियो । संगठनमा उमेरहद ३२ वा त्यो भन्दा कम तोक्ने वा उमेरहद नै नराख्ने भन्ने विषयमा विवाद भएपछि बन्दसत्र स्थगत गर्नपर्ने अवस्थामा पुगेको हो ।
उमेरहदकै विवादका कारण सम्मेलनमा कुर्सी हानाहानसमेत भएपछि विवाद टुंग्याउन माओवादीले उपमहासचिव शक्ति बस्नेतलाई जिम्मेवारी दिए पनि मिल्न सकेको छैन ।