काठमाडौं । हरेक वर्षको अक्टोबर महिनाको ४ तारिखका दिन विश्व पशु दिवस अर्थात् जनावर दिवस मनाउने गरिन्छ ।
यस अवसरमा पशुपक्षी तथा जनावरहरूको सुरक्षाको लागि काम गर्ने विभिन्न संघसंस्थाहरूले उनीहरूको सुरक्षित हुन पाउने अधिकारका सवालहरू अगाडि बढाउँदै पशुपक्षीहरूको कल्याणकारी सुनिश्चितताको विषयमा आवाज उठाउने गरिन्छ ।
यस्ता विभिन्न संघसंस्थाहरुमध्ये एनिमल नेपाल पनि एक हो । यस संस्थाले सन् २००९ देखि पशुपक्षी तथा जनावरहको सुरक्षाका लागि काम गर्दै आएको छ ।
यस संस्थाले सामुदायिक कुकुरहरूको व्यवस्थापन, अन्य कल्याणकारी कार्यक्रमहरू, अण्डा उत्पादन गर्ने कुखुराहरूको कल्याण र मासु खपतका लागि प्रयोग हुने जनावरहरूको ढुवानी गर्दा सुनिश्चित गर्नु पर्ने विभिन्न उपचार तथा कल्याणका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यसै सन्दर्भमा असोज १२ गते World Rabies day, असोज १६ गते World Farm Animals day र १८ गते World Animal day को अवसर पारेर एनिमल नेपालले सञ्चारकर्मीहरूसँग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एनिमल नेपालकी प्रमुख सुरक्षणा राणाले अहिले अविरल वर्षा, बाढी पहिरोको कारणले बाटोहरू अवरुद्ध हुँदा ट्रकहरूमा ढुवानी गरेका राँगा, भैँसीहरुलाई २/३ दिनसम्म एकै ठाउँमा राखिएको, उनीहरूलाई पानी, घाँसहरू नदिएको र क्वारेनटाइनमा राखेर आराम नगरिएको पाइएको र यसका लागि सम्बन्धित निकायमा पहल गर्दा सुनुवाइ नभएको गुनासो व्यक्त गरिन् ।
विगतका दिनमा पनि बाढी, पहिरो जाँदा पशु ढुवानी सेवा कठिनाइ भएको, बाटो बन्दा हुँदा ट्राफिक प्रहरीसँग पशुपक्षी तथा जनावरहरूको सुरक्षित ढुवानीका लागि पहल गरिएको, विभिन्न स्थानहरूमा क्वारेनटाइन तथा विश्राम स्थलहरूको निर्माणका लागि पहल गरिएको तर पनि उक्त कार्यहरू हुन नसक्दा ढुवानीका क्रममा मासु उपभोगका लागि प्रयोगका गरिने जनावरहरूले ज्यादै दुःख भोग्न परेको अवस्था रहेको उनले बताइन् ।
राणाका अनुसार आफूहरूले जनावर तथा पशुपक्षीहरूका अधिकारका लागि विभिन्न सरोकारवाला निकायहरूसँग सहकार्य गरेर काम गर्ने क्रममा काठमाडौं महानगरपालिकाले पशुपक्षीहरू तथा मासुजन्य जनावरहरूको ढुवानीका क्रममा बिरामी भएका जनावरहरूलाई आरामको लागि ५ दिन सम्म क्वारेनटाइन बनाएर राख्ने, ल्याब टेस्ट गर्ने व्यवस्था गर्ने भनिएता पनि त्यो कार्य हुन सकेको छैन ।
यसै क्रममा उनले राँगा भैँसीको तौल अनुसार १८ देखि २० वटा जनावरलाई मात्रै सवारी साधनमा राखेर ढुवानी गर्नु पर्ने, प्रतिघण्टा ४० किलो मिटर हिँडाउने र ६ / ६ घण्टामा आराम गराउनुपर्ने मापदण्ड रहेको तर उक्त मापदण्ड कार्यान्वयन हुन नसकेको, चितवनमा आराम तथा विश्राम कक्ष बनाउने भनिएता पनि त्यो कार्य हुन नसेको गुनासो गरिन् ।
गत १५ गते काठमाडौंमा जनावर तथा पशुपक्षीहरूको विषयमा पत्रकारहरूसँग गरिएको छलफलमा एनिमल नेपालका जनावरहरूको सुरक्षा, पशुपक्षीहरूको कल्याणकारी सुनिश्चितता हुनुपर्ने, यसका लागि सबै नागरिकहरूले आ-आफ्नो स्थानबाट सहयोग गर्नु पर्ने र सञ्चार माध्यमहरूले बढी भन्दा बढी आवाज उठाउन सकुन् भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको एनिमल नेपालकी फिल्ड सुपरभाइजर लक्ष्मी खत्रीले बताइन् ।
साथै उनले सञ्चारकर्मीहरूले पशुपक्षी तथा जनावरहरूको सहज जीवन यापनका लागि, सुरक्षाका लागि, विना पीडामा बाँच्न पाउने अधिकारको सुनिश्चित गराउनका लागि पत्रकारहरूले समाचार तथा लेख रचनाहरू लेखेर सरकारलाई दबाब दिनु आग्रह गरिन् । नेपाल सरकारले पशु सेवा ऐन २०५५, त्यसको नियमावली २०५६ र पशु ढुवानी मापदण्ड २०६४ ल्याएको छ ।
यसमा प्रत्येक पशुहरू ढुवानी गरिने सवारी साधनमा प्राथमिक बाकस हुनु पर्ने, शारीरिक बनोट फरक भएका पशुहरूको ढुवानी एउटै सवारी साधनमा गर्न नहुने, ढुवानी गर्दा सबै जनावरको मुख चालक तर्फ फर्काइनु पर्ने, नाक, कान, पुच्छरमा डोरी बाँध्न नहुने, जनावरले टेक्ने भुईँमा ६ इन्च बाक्लो भुस, पराल वा सोतर राखिनु पर्ने भनी भनिएको छ । तर यी व्यवस्थाहरु कार्यन्वयन हुन सकेका छैनन् ।