काठमाडौं । चीनको तिब्बत स्वायत्त प्रदेशमा सक्रिय गुड विल फाउण्डेशन (जीडब्लुएफ)ले नेपालका बाढीपीडितहरुलाई राहत सामग्री सहयोग गरेको छ ।
चिनिया गैरसरकारी संस्था गुडविल फाउण्डेसनले शुक्रबार बागमती नदीमा हालै आएको बाढीबाट प्रभावित बासिन्दालाई सहयोग गरेको हो । फाउण्डेसनले चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सीआरडीएफ)को सहयोगमा यी राहत सामग्री वितरण गरेको हो ।
चुनौतीहरूको सामूहिक सामना गर्दै, सँगसँगै कष्टहरू पार गरौँ’ नामक राहत अभियानअन्तर्गत शुक्रबार एक कार्यक्रमकाबीच सीआरडीएफका कर्मचारीहरुले काठमाडौंको टेकुमा बसोबास गर्ने ४२ घरपरिवारलाई राहत प्याकेज वितरण गरेका छन् ।
यो राहत प्याकेजमा दैनिक प्रयोग हुने सामग्रीहरू टुथपेस्ट, टुथब्रश, तौलिया र साबुन, पानी भण्डारणका लागि बाल्टिन र गाग्री, महिलाहरूका लागि सेनेटरी प्याड, आपतकालीन खाद्यसामग्री (चामल, पीठो, तेल, र कम्प्रेस्ड बिस्कुट), तथा तातोपन र लामखुट्टेबाट बच्नको लागि सिरक, डसना, सिरानी र झुल समावेश छन् ।
गुडविल फाउण्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गत असोज ११ र १२ गते काठमाडौं उपत्यका र नेपालका अन्य भागहरू लगातार भारी वर्षापछि आएको विनाशकारी बाढी र पहिरोले मानव जीवन र सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ । २२० जना भन्दा बढी व्यक्तिले आफ्नो जीवन गुमाएका छन्, दर्जनौं बेपत्ता भएका छन्, र सयौं घाइते भएका छन् । यस घटनालाई मध्यनजर गर्दै, चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टसँग मिलेर हामीले ‘नेपालको विनाशकारी बाढी राहत सहयोग अभियान’ शुरू गरेका छौं । यो अभियानलाई विभिन्न चरणमा हामीले निरन्तरता दिनेछौं ।’
राहत सहयोग गर्नका लागि सीआरडीएफका कर्मचारीहरुको विदा कटौती गरिएको थियो । यतिबेला नेपालमा रहेका सीआरडीएफका कर्मचारीहरु चीनको राष्ट्रिय दिवसको अवसरमा एकहप्ते छुट्टीमा छन् ।
जीडब्लुएफ र सीआरडीएफबीच नेपालमा गरिएको यो दोस्रो ठूलो सहकार्य हो । यसअघि जीडब्लुएफले कोरोना महामारीको समयमा सन् २०२० मा ‘महामारी नियन्त्रण’ परियोजना अन्तर्गत नेपाललाई पाँच लाख ५० हजार सुरक्षात्मक मास्क र ७५ अक्सिजन जेनेरेटरहरू प्रदान गरेको थियो ।
गुडविल फाउण्डेसन लामो समयदेखि नेपालमा जनहितका परियोजनाहरूमा संलग्न छ । फाउण्डेसनले विशेष गरी बेरोजगार युवाहरूलाई रोजगारी प्रवद्र्धन गर्न र उनीहरूको जीवनस्तर सुधार गर्न सीप प्रशिक्षणमा सहयोग पुर्याउँदै आएको छ । फाउण्डेसनले भविष्यमा पनि नेपाली जनताको जीवनस्तर सुधार र सीप प्रशिक्षण परियोजनाहरू अघि बढाउने योजना बनाएको जनाएको छ ।