काठमाडौं । भैरहवा–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको भैरहवामा आज देखि शुरु भएको सडक खाना महोत्सवको एक भब्य समारोहकाबीच उद्घाटन गरेका छन् । विश्व पर्यटन दिवसको सन्दर्भ पारेर सिद्धार्थ होटल एशोसियसनले सडक खाना महोत्सव २०८१ आयोजना गरेको हो ।
नेपाली रैथाने खानाको स्वाद स्वदेशी तथा विदेशी पर्यटकलाई चखाउने, नेपाली रैथाने खानालाई ब्राण्डिङ्ग गर्ने उद्देश्यले सडक खाना महोत्सव आयोजना गरिएको सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए ।
भैरहवाको देवकोटा चोकदेखि हाटबजार सम्म दुई दिनसम्म सडकमै खाने र राष्ट्रिय कलाकारहरुसँग रमाउने गरी कार्यक्रम आयोजना गरिएको छ । महोत्सवमा विभिन्न तारे होटलका खानाका परिकार छुटसहित पस्किने व्यवस्था मिलाइएको छ ।
लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, स्थानीय पालिकासहित विभिन्न संघसंस्थासँग सहकार्य गरी दुई दिनसम्म ‘भैरहवा फूड फेस्टिबल तथा म्युजिकल नाइट–२०८१’ आयोजना गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गरी सिथिल रहेको पर्यटन क्षेत्रलाई उकास्न महोत्सव फलदायी हुने विश्वास गरिएको छ ।
महोत्सवमा आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटक अधिक मात्रामा आउने अपेक्षा गरिएको छ । थरिथरिका स्तरीय होटलका स्वाद लिन पाउने भएकाले ५० हजार हाराहारी पर्यटक महोत्सवमा रमाउन आउने विश्वास गरिएको छ । महोत्सव उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने लगायत पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको सहभागिता छ ।