काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५०/५० लाख रुपैयाँ सहयोग गरेका छन् ।
आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत र कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ललगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले एमालेटोलीसँगको भेटमा साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए ।
उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गरे । एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा ५० लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो । यस्तै, सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त सुझाव मननीय भएको बताए । उनले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई संकटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्नेमा विश्वास दिलाए । नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ ।