काठमाडौं । सरकारले टीआरसीसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने भएको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसअघि गठन भएको मिश्र नेतृत्वको सिफारिस समितिलाई ब्यूँताएर आयोगका पदाधिकारी सिफारिस गर्ने जिम्मेवारी दिएको हो । तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० चैत ३० मा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो।
समितिमा राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिका साथै जगदीश शर्मा पौडेल, अर्जुनकुमार कार्की र स्टेला तामाङलाई सदस्य थिए ।
तर, पहिले संसद्मा विचाराधीन विधेयक पारित गर्नुपर्ने सर्त राखेर मानवअधिकार आयोगले प्रतिनिधित्व नगराएका कारण समितिले सिफारिस प्रक्रिया नै अघि बढाउन सकेको थिएन । अहिले मन्त्रिपरिषद् बैठकले सोही समितिलाई नै आयोगका लागि पदाधिकारी सिफारिसको जिम्मेवारी दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्बी सुब्बा गुरुङले जानकारी दिए ।