दुई वर्षअघि मेरो घुँडा दुखेर धेरै समस्या परेको थियो । मनमनै लागेको थियो— अब त जीवनभर खोच्याएर हिँड्नुपर्ने भयो । कति साथीहरूले ‘लौ तिमीलाई बुढेसकाल लाग्यो, घुँडाको हाड खिइयो, आराम गर, हिँड्न छोड’ भनेर सल्लाह दिए ।
मैले हाडरोग विज्ञ डा. भाष्कर पन्तसँग छलफल गरे । ‘तपाईं जस्तो मान्छेलाई त यस्तो समस्या नहुनुपर्ने,’ उनले मेरो घुँडा जाँचेर भने, ‘तपाईंको हड्डी खिइएको पनि होइन, युरिक एसिड बढेको पनि होइन । घुँडाको तल र माथिका मांसपेशी कमजोर भएकाले दुखेको हो ।’
मैले घुँडाको एक्सरे पनि गरें । उनले घुँडाको एक्सरे देखाउँदै भने, ‘तपाईं के खानुहुन्छ ? तपाईंको घुँडा त ४० वर्षको महिलाको जस्तो छ, हाड खिइएको छैन । फिजियोथेरापी सिकेर घरमा हरेक दिन गर्नुस् । यसले तपार्इंको घुँडा वरिपरिको मांसपेशी बलियो बनाउँछ, दुखाइ बिस्तारै कम हुन्छ ।’ फिजियोथेरापी एक साताजति सिकेर मैले घरमा नै गर्न थालें । दुखाइ बिस्तारै कम भयो, पूर्ण ठीक हुन झन्डै ४ साता लागेको थियो ।
‘घुँडा बढी दुखे चिसो पानीले सेक्नु’ भन्ने मैले सल्लाह पनि पाएकी थिएँ । त्यहीअनुसार बढी दुख्दा बरफको टुक्रालाई कपडामा राखेर सेकें । ५–६ दिनपछि मेरो घुँडाको दुखाइमा केही कमी आयो । भर्याङ माथि–तल गर्दा पनि सहज लाग्न थाल्यो । मेरो तौल खासै बढी थिएन, ‘तर तौल घटे घुँडा दुख्ने समस्यामा कमी आउन सक्छ’ भन्ने सल्लाह पाएँ । दुई किलो तौल पनि घटाएँ । ‘हाडको स्वास्थ्य ठीक पार्न क्याल्सियम खानुपर्छ’ भनेर पोषण विज्ञानले भन्छ । क्याल्सियम भोजनमा नै पाइन्छ, औषधि किन किन्नु र ?
भोजनमा आलस, तिल, मुगरेलो, मेथी, फर्सीको दाना पनि दिनदिनै खाने भएकाले क्याल्सियमको चक्की खानु पर्दैन भन्ने विश्वास थियो । मैले डाक्टरको सल्लाहअनुसार विशेष जुत्ता पनि किनें । अहिले जहाँ जाँदा पनि त्यही जुत्ता लगाउँछु । ‘अरूले मेरो जुत्ता हेरेर मलाई के भन्छन्, त्यति वास्ता लाग्दैन । वश, मेरो घुँडा दुख्नु भएन ।
हड्डीको क्षय र घुँडा दुख्ने समस्या अहिले युवालाई पनि देखिन थालेको छ । उमेरसँगै हुने समस्यालाई पूर्णरूपले निराकरण गर्न नसकिए पनि स्वस्थ जीवनशैली, व्यायाम, स्वस्थ भोजन, सजिलो जुत्ता आदिले दुखाइ कम गर्न सकिन्छ । हरेकचोटि घुँडा दुख्नेबित्तिकै ‘घुँडाको हड्डी खिइएको’ भन्ने विचार सधैं सत्य हुँदो रहेनछ । घुँडो वरिपरिको मांसपेशीको कमजोरीका कारण दुख्न सक्छ । शारीरिक तौल ठिक्क भएको मानिसको तुलनामा मोटो मानिसको घुँडा दुख्ने समस्या ४ गुणा बढी हुन्छ भनेर विज्ञानले नै सिद्ध गरेको छ । त्यसैले तौललाई नबढोस् भनेर युवाहरू जागरुक हुनुपर्छ ।
विशेषगरी महिलाको महिनावारी सुकेपछि तौल बढ्न सक्ने सम्भावना हुन्छ । रजोनिवृत्तिको सुरुवात हुनुअघि नै विशेष किसिमको योगासन, व्यायाम र स्वस्थकर भोजनलाई ध्यान दिनुपर्छ ।
पेसाले नर्स मिथिला शर्मालाई घुँडा र ढाड दुख्ने समस्या २० वर्षअघि भएको थियो । ५ फिट उचाइकी उनको तौल ८० किलो थियो । स्वास्थ्यकर्मीको सल्लाहअनुसार उनले स्वस्थकर खाना खाइन्, व्यायाम गरिन् र १२ महिनामा शरीरको तौल २० किलो घटाइन् । उनले खानामा भात र रोटी कम, दाल र तरकारी बढी प्रयोग गरिन् । शरीरको तौल घट्दै जाँदा घुँडा दुखाइ पनि कम हुँदै गयो । एक वर्षपछि त दुखाइ पूर्णरूपमा हरायो । मिथिला भन्ने गर्छिन्, ‘२० वर्षअघि मेरो घुँडा नदुखेको भए तौल घटाउन प्रयत्न नै गर्दिन थिएँ । अहिलेसम्म मलाई कति किसिमका नसर्ने रोग भइसक्यो होला ।’ ६४ वर्षकी उनलाई अहिले उच्च रक्तचाप, मधुमेह केही छैन ।
घुँडा दुखाइमा लगाउने तेलको विज्ञापनमा कहिल्यै भर पर्नुहुन्न । साँच्ची नै यस्तो औषधि भए त डाक्टरहरूले लेखिहाल्थे नि । ‘छाला भित्रसम्म पसेर हड्डी खिइएको ठीक पार्ने’ जस्ता विज्ञापनमा कुनै वैज्ञानिक अनुसन्धान नै भएको छैन । यो सबै भ्रम मात्रै हो । तौल कम गर्ने, आरामदायी जुत्ता लगाउने, व्यायाम गर्ने र दुखाइ बढेमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ । तर स्वस्थ जीवनशैलीलाई कहिल्यै पनि बिर्सनु हुँदैन ।
डा.उप्रेतीको फेसबुकबाट साभार