काठमाडौं । कास्कीको पोखरामा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
प्रदर्शनकारीलाई निषेधित क्षेत्रबाट हटाउनका लागि प्रहरीले अश्रूग्यास र पानीको फोहोरा प्रहार गरिएको छ । प्रहरीले अश्रूग्यास र पानीको फोहोरा प्रहार गरेपनि प्रदर्शनकारीले निषेधित क्षेत्रमा नै प्रदर्शन गरिरहेका छन् ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई अदालतमा हाजिर गराउदा उनका समर्थकहरुले कास्की अदालत नजिकै प्रदर्शन गरेका हुन् ।
निरन्तरको प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयले कास्कीका शहिद चोक र गैह्रापाटक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । तर रास्वपा नेता तथा कार्यकर्ताले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीको नेतृत्वको टोलीले लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ। सहकारीको रकम अपचलन प्रकरणमा संलग्न जीबी राई मलेसिया पुगेको प्रहरीले बताउँदै आएको छ।