काठमाडौं । तिहारमा मुलुकभर ४५ लाख गोटा माला खपत हुने भएका छन् । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा ३८ करोड रुपैयाँ बराबरको सयपत्री, मखमली र गोदावरी गरेर ४५ लाख गोटा माला खपत हुने अनुमान छ ।
तिहारमा उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने गर्छ । तिहारका बेला आन्तरिक उत्पादनले ६० प्रतिशतसम्म माग धान्ने र ४० प्रतिशत आयात गर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष मालाको माग १० प्रतिशतका दरले बढ्दै जाने गरेको पनि देखिएको छ ।
पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ । व्यवसायीका अनुसार तिहारमा प्रतिगोटा सयपत्री माला ८० देखि एक सय रुपियाँसम्म पर्छ । तिहारमा नेपालबाट विदेशी मुलुकमा पनि दुई लाखभन्दा बढी सयपत्री माला निर्यात हुने गरेको छ ।
तिहारमा लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीकाका लागि मालाको बढी प्रयोग हुने गर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार मुलुकभर ५२ जिल्लामा २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । त्यस्तै देशभर एक हजार १७४ वटा नर्सरी सञ्चालनमा छन् । आठ अर्ब ८३ करोड लगानी रहेको पुष्प व्यवसाया ५१ हजारले रोजगारी पाएका छन् ।