काठमाडौं । एमालेले पार्टी केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको विषय अदालतमा पुगेको छ ।
गुरुङले आफूले दान दिएको जग्गामा आफ्नै पैसाले एमाले केन्द्रीय कार्यालय भवन पनि बनाइदिने भएपछि सर्वोच्चमा परेको रिटमाथि आजका लागि पेसी तोकिएको छ ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायतले एमाले र भाटभटेनी सुपर मार्केटका सञ्चालकसमेत रहेका व्यवसायी गुरुङविरुद्ध बुधबार रिट निवेदन दर्ता गराएका हुन् । रिटमा प्रारम्भिक सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला व्यवसायीबाट पार्टी कार्यालय बनाउन सित्तैमा जग्गा लिने र उनै व्यवसायीले आफ्नैखर्चमा भवन बनाइदिने कुराले स्वार्थ बाझिएको दाबी रिटमा गरिएको छ । व्यवसायीले राजनीतिक दललाई दिने चन्दा, जग्गा, गैरकानुनी हुने वा नहुने अब सर्वोच्चले सुनिश्चित गर्नेछ ।
कात्तिक १ गते रिट निवेदन दर्ताका लागि सर्वोच्चमा पेस भएको थियो । सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले यो विषय सार्वजनिक सरोकारको नभएको भन्दै दरपीठ (दर्ता गर्न नमिल्ने) गरिदिएका थिए । दरपीठविरुद्ध निवेदन इजलासमा पेस गरिएको थियो ।