काठमाडौं । संघीय संसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक दर्ता भएको छ । शिक्षामन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभामा दर्ता गरेकी हुन् ।
विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा परीक्षण गर्ने प्रयोजनको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालन गर्न आवश्यक भएकाले विधेयक ल्याइएको शिक्षामन्त्री भट्टराईले बताइन् ।
दर्ता विधेयकमा उद्देश्य र कारणमा भनिएको छ, ‘जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणको लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्धतिको प्रयोगबाट प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुयाउन ।’
प्रयोगशालाको स्थापना तथा काम, कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम, कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था विधेयकमा राखिएको छ । कार्यकारी निर्देशक र कर्मचारीसम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षण तथा डीएनए डाटा बैंकको स्थापनासहितका व्यवस्था विधेयकमा रहेका छन् ।