काठमाडौं । अमेरिकाको भर्जिनियामा कार पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु भएको छ। भर्जिनियाको स्यान्टिली शहरस्थित एक होटल बाहिर रहेको पोखरीमा बिहीबार बिहान कार डुब्दा उनीहरूको मृत्यु भएको हो।
‘फेयर फ्याक्स काउन्टी’ प्रहरीलाई उद्धृत गर्दै एनबीसी वाशिङ्टन डटकमले ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्टको मृत्यु भएको जनाएको छ। कार खड्काले चलाएका थिए। कार हिउँबाट चिप्लिएर जमेको पोखरीमा डुबेको बताइएको छ।
पोखरी कार डुब्ने खालको नभए पनि अत्यधिक चिसो पानी र उद्धार हुन समय लाग्दा खड्का र उनको आफन्त पर्ने भट्टको मृत्यु भएको अनुमान छ। तर त्यो स्थानमा कार दुर्घटना भएर दुईजनाको ज्यान जानुलाई सुरक्षा अधिकारीले आश्चर्यजनक मानेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। खड्का सोही होटलमा कार्यरत थिए। भट्ट जागिरका लागि आवेदन दिने योजनामा थिए।