काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा धरौटीमा छुटेका रास्वपा सभापति रवि लामिछाने आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर हुने भएका छन्।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा ८४ दिनसम्म हिरासतमा राखिएका लामिछाने जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको आदेशमा बिहीबार थुनामुक्त भएका थिए।
लामिछाने कास्कीमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेका र आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर हुने रास्वपाका सहकाेषाध्यक्ष दीपक बोहराले जानकारी दिए। उनले भने, ‘रवि दाइका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौंतर्फ जाने क्रममा हुनुहुन्छ। सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८ः३० मा नै काठमाडौं जिल्ला अदालतमा हाजिर हुनुहुनेछ।’
रविलाई आफैँ अदालतमा उपस्थित हुने सर्तमा कास्की प्रहरीले रास्वपा कार्यवाहक सभापति डिपी अर्यालको जिम्मा लगाएको थियो। उनीविरुद्ध कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको पनि मुद्दा छ ।