काठमाडौं । नेपाली बजारमा अनरको फ्ल्यागशिप फोन ‘अनर म्याजिक सिक्स प्रो’ भित्रिएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले यो फोन भित्र्याएको हो ।
यस फोनमा फाल्कन क्यामेरा सिस्टम रहेको छ, जसमा अनर एआई मोसन सेन्सिङ क्याप्चर नामक एल्गोरिदम राखिएको छ । सोहीकारण फोनबाट विभिन्न खेल तथा गतिविधिको उत्कृष्ट फोटो खिच्न सकिने कम्पनीको दाबी छ ।
फोनमा १८० मेगापिक्सेलको टेलिफोटो क्यामेरा लेन्स, ५० मेगापिक्सेलको अल्ट्रावाइड र ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । फोनमा भएको टेलिफोटो क्यामेरा लेन्सबाट साढे दुई गुणा अप्टिकल जुम र सय गुणा डिजिटल जुम गर्न सकिने कम्पनीको भनाइ छ ।
त्यस्तै फोनमा १२० रिफ्रेस रेट सहित ६.८ इन्चको एलटीपीओ ओलेड डिस्प्ले छ । फोनमा अधिकतम ब्राइनेट ५००० निट्स पाउन सकिन्छ । यसैगरी यो फोनको डिस्प्लेका लागि नानोक्रिस्टल शिल्ड प्रोटेक्सन रहेको छ । जसले गर्दा यो फोन भूईंमा खसे पनि हत्तपत्त नफुट्ने कम्पनीको दाबी छ ।
यसमा शक्तिशाली ५६०० एमएएच क्षमताको ब्याट्री छ । फोनले ८० वाटको वायर्ड, ६६ वाटको वायरलेस र ५ वाटको रिभर्स चार्जिङ सपोर्ट गर्छ । नेपालमा १२ जीबी र्याम तथा ५१२ इन्टर्नल स्टोरेज भेरियन्टकाे फाेन मात्र आउनेछ, जसको मूल्य एक लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
नेपालमा यो फोनको प्रि-बुकिङ आजबाट खुलिसकेको छ । यो फोन प्रि-अर्डर गर्ने ग्राहकले २१ हजार ९९० रुपैयाँको अनर वाच फोर तथा भीआईपी कार्ड नि:शुल्क पाउने छन् ।
भीआईपी कार्डमा एक वर्षको लागि नि:शुल्क सेवा, अनर मोडमा छुट र अन्य धेरै सुविधाहरू समावेश भएको कम्पनीले जनाएको छ । ग्राहकहरूले यो फोन अफलाइन रिटेल स्टोर, दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्महरू मार्फत पनि खरिद गर्न सक्नेछन् ।