काठमाडौं । लमजुङका विभिन्न ठाउँमा डरलाग्दा ठाडो भिरपहरामा मह सिकार अर्थात् ‘हनि हन्टिङ’ हुने गरेको छ । निडर महसिकारीहरू आफ्नो ज्यानको बाजी लगाउँदै भिरपहरामा महसिकार हुने गर्दछ ।
विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गसँगै लमजुङका विभिन्न पर्यटकीय सम्पदाले बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेका छन् ।
पछिल्लो समय महसिकार पनि पर्यटक आकर्षण गर्ने राम्रो माध्यम बनेको छ । लमजुङमा सामान्यतयाः प्रत्येक वर्ष वैशाख, कात्तिक र मंसिर महिनामा भिरमाहुरीको महसिकार गर्ने गरिन्छ ।
महसिकार लमजुङका गुरुङ समुदायको परम्परागत पेसा पनि हो । लमजुङको सिऊरुङ, पसगाउँ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, भुजुङ, नाइचे, दूधपोखरीलगायतका भिरपहराहरूमा भिरमौरीहरु प्रशस्त पाइन्छ । झन्डै एक हजार पाँच सयदेखि दुई हजार पाँच सय मिटरको उचाइका पहरामा भिरमौरीले घार बनाउने गर्दछ ।