काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको धेद्रे सुरुङ मार्गमा ‘ब्रेक थ्रू’ भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाण्डुतर्फ आउने सुरुङमार्ग शुक्रबार छिचोलिएको छ ।
जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाण्डुबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो । शुक्रबारको कार्यक्रम रक्षा मन्त्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति महारथी प्रभुराम शर्मा, रक्षा सचिव किरण राज शर्मा, रथीवृन्द लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैरसैनिक व्यक्तिको उपस्थिति थियो ।
कार्यक्रममा रक्षा मन्त्री उप्रेतीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्ग लगायत द्रुतमार्गका निर्माणाधीन संरचनाहरूको अवलोकन गरेका थिए ।