काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नामिबियाले ओमानलाई हराएको छ । सोमबार बिहान निर्धारित खेल बराबरीमा रोकएपछि नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको हो ।
सुपर ओभरमा नामिबियाले ६ बलमा २१ रन बनाएको थियो । जवाफमा ओमानले १० रन मात्रै बनाउन सक्यो ।
ओमानका लागि बिलाल खानले बलिङ गरेका थिए । उनले सुपर ओभरमा २१ रन दिए ।
नामिबियाका वाइजले बलिङ गरेका थिए । उनले कसिलो बलिङ गर्दै पहिलो बलमा २ रन दिए भने दोस्रो बल डट राखे । तेस्रो बलमा विकेट लिएका वाइजले चौथो बलमा १ रन दिए । त्यस्तै पाँचौँ बलमा १ र छैटौँ बलमा छक्का खाए । यससँगै सुपर ओभरमा नामिबिया ११ रनले विजयी भयो ।
यसअघि नियमित खेलमा ११० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०९ रन मात्रै बनापछि खेल बराबरीमा रोकिएको थियो ।
अन्तिम ओभरमा नामिबियालाई जितका लागि ५ रन मात्रै चाहिएको थियो भने हातमा ६ विकेट बाँकी थियो । तर अन्तिम ओभरमा चार रन मात्रै बनाउन सक्यो ।