काठमाडौं । कुवेतको बहुतले भवनमा भएको आगलागीका क्रममा हामफाल्ने पाँचजना नेपालीमध्ये तीनजना घाइते भएको र दुईजना सामान्य अवस्थामा रहेका छन् ।
कुवेतस्थित नेपाली राजदूत घनश्याम लम्सालले दिएको जानकारीअनुसार पाँचमध्ये तीन नेपाली घाइते छन् भने दुई जनाको अवस्था सामान्य छ ।
बीबीसी हिन्दीसँगको कुराकानीका क्रममा उनले सो प्रतिक्रिया दिएका हुन् । घाइतेको अवस्था बुझ्न दूतावासको टोली अस्पतालमा गएको जनाइएको छ ।
आगलागीका क्रममा हाम फालेका नेपालीमा शिवगन्ज झापाका दोर्जे लामा, सिरहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदप रहेको जनाइएको छ ।
सो आगलागीमा मृत्यु हुने अधिकांश भारतीय नागरिक भएको बताइएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसपालले मृतक अधिकांश भारतीय भएको बताएका छन् । सो घटनामा मृतकमध्ये ४० जना भारतीय रहेको जनाइएको छ ।
यसैबीच आगलागीमा मृत्यु हुने भारतीयका परिवारलाई भारत सरकारले प्रति मृतक २ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । पीएम रिलिफ फण्डबाट सो रकम दिन लागिएको बीबीसीमा प्रकाशित समाचारमा जनाइएको छ ।