काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी रकम पठाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमा त्यसको ९३ प्रतिशत हुनेगरी १६ अर्ब ९९ करोड २२ लाख पठाउने निर्णय भएको हो ।
बैठकले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने निर्णय पनि गरेको उनले बताइन् ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायरसँगै उनी स्वत: निलम्बित भएका थिए ।
अर्याल स्वतः निलम्बनमा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मेवारी दिइएको छ ।