काठमाडौं । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगाी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो।
अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए।
‘सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा गरेका निर्णय समेटेर गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक सूचना प्रकाशन गरेको छ, अब घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने छ,’ उनले भने।
मन्त्रालयले माघ १ देखि बैंकिङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेचसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचपयत्र अनिवार्य गरेको छ।