एजेन्सी । इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालका प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ । सात महिनाभन्दा लामो समयदेखि हिरासतमा रहेका अस्पतालका निर्देशक मोहम्मद अबु साल्मियासहित दर्जनौँ प्यालेस्टिनी कैदी सोमबार उपचारका लागि इजरायली सेनाले घेराबन्दी गरेको गाजा क्षेत्रमा फर्केका हुन् ।
उनको रिहाइको पुष्टि इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन गविर र गाजाको एक चिकित्सा स्रोतले सामाजिक सञ्जालमा गरेका छन् । सात महिनाभन्दा बढी हिरासतबाट मुक्त भएपछि उनले सोमबार आफूलाई इजरायलले ‘यातना’ दिएको बताए ।
अल–सिफाका अस्पताल निर्देशक साल्मिया ५० भन्दा बढी प्यालेस्टिनीमध्ये रिहा भई उपचारका लागि गाजा फर्किएका हुन् । निर्देशक साल्मियाले आफ्नो नजरबन्दको क्रममा ‘गम्भीर यातना’ दिइएको बताउँदै यातनाले गर्दा आफ्नो औँला भाँचिएको जानकारी गराए ।
कैदीहरूलाई धेरै यातना दिइने बताउँदै ‘धेरै कैदीले खाना र औषधिबाट वञ्चित रहनुपरेको र उनीहरूको मृत्युसमेत हुने गरेको’ उनले पत्रकार सम्मेलनमा बताए । दुई महिनासम्म कुनै पनि कैदीलाई दिनको एक रोटीभन्दा बढी खान नदिएको बताउँदै साल्मियाले कैदीलाई शारीरिक र मनोवैज्ञानिक अपमान गरिएको उल्लेख गरे ।