काठमाडौं । गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा निर्मल विष्ट रहेका छन्। विष्टलाई मावन बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो।
विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते (शुक्रबार) थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएको आरोप छ।
प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि यस विषयमा छानबिन भएको थियो।
गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते (मंगलबार) विष्टलाई सेवाबाट हटाएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ।