काठमाडौं । त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन।
शुक्रबार साँझ भइसकेको र त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको हुँदा आजलाई खोजी कार्य स्थगित गरिएको छ। मौसम अनुकूल भए भोली (शनिबार) बिहानबाटै पुन: खोजी कार्य गर्ने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए। बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज बिहान दुईवटा बस नदीमा खसेका थिए। बसमा ६५ जना सवार रहेको बताइएको छ।
आज बिहान आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए।
प्रहरीका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए।