काठमाडौं । धरानमा खानेपानी महसुल वृद्धि गर्ने खानेपानी व्यवस्थापन बोर्डको निर्णयविरुद्ध १० राजनीतिक दलले आन्दोलनको घोषणा गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहित १० दलले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी तीनदिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । बोर्डमा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई अध्यक्ष छन् ।
उनले गैरकानुनी रूपमा महसुल वृद्धि गर्ने निर्णय गरी लाद्न खोजेको १० दलको आरोप छ । यसअघि ११ साउनमा यी दलले पछिल्लो निर्णय खारेज गरी पुरानै दर कायम गर्न भन्दै ७२ घण्टाको समयसीमा दिएका थिए ।
तर, बोर्डका अध्यक्ष राईले बेवास्ता गरेपछि आन्दोलनमा जान बाध्य भएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘कानुनविपरीत धराने जनताको ढाड सेक्ने गरी गरिएको महसुल वृद्धिविरुद्धको आन्दोलनलाई चरणबद्ध रूपमा घोषणा गरी जुनसुकै अवस्था आइपरे पनि महसुल वृद्धिलाई यथावत् (पुरानै) दर कायम गर्न गराउन निम्नअनुसार आन्दोलनका कार्यक्रम घोषणा गर्दछौं’, संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनका कार्यक्रमअनुसार, उनीहरूले साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थासँग अन्तर्क्रिया गर्ने, १८ गते वडा कार्यालयहरूमा वडास्तरबाट ध्यानाकर्षणपत्र बुझाउने र २० गते धर्ना कार्यक्रम गर्नेछन् । संयुक्त प्रेस विज्ञप्तिमा कांग्रेस नगर सभापति श्याम पोखरेल, एमाले नगर अध्यक्ष हर्कजङ एभेङ, माओवादी केन्द्रका नगर अध्यक्ष सर्वजित राई, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति सुमन श्रेष्ठ, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्बूसहित १० जनाको हस्ताक्षर छ ।