काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, सरकारी निकाय तथा वन उपभोक्ता समूहले ‘सामुदायिक वनको प्रभावकारीता, तिनै तहका सरकार र समूहको सहभागीता’ भन्ने नाराका साथ साउन २० देखि २६ गतेसम्म सप्ताहव्यापी रूपमा सामुदायिक वन दिवस मनाइने भएको छ ।
सामुदायिक वनको रूपमा दिगो वन व्यवस्थापनका लागि स्थानीय समुदायलाई वन हस्तान्तरण गर्न सुरुवात गरिएको दिनको स्मरण स्वरूप सामुदायिक वन दिवस मनाइँदै आइएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आइतबार पत्रकार सम्मेलन गर्दै साताव्यापी रुपमा दिवस मनाइने जानकारी दिएको छ ।
सामुदायिक वन दिवसमा सामुदायिक वनका माध्यमबाट भए गरिएका उल्लेखनीय योगदानको परिचर्चा गर्ने, राम्रा कामहरूका स्मरण, मूल्याङ्कन तथा सम्मान गर्ने र सामुदायिक वनका चुनौतीहरूको समीक्षा गर्ने जस्ता कार्यहरू गरी विभिन्न कार्यक्रमहरू मनाइने महासंघले जनाएको छ ।
देशभर करिब २२७६० सामुदायिक वन उपभोक्ता समूहले ३१ लाखभन्दा बढी घरधुरीहरूको संलग्नतामा लगभग २३ लाख हेक्टर वन क्षेत्र सामुदायिक वनको रूपमा व्यवस्थापन गर्दै आएका छन् ।