काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१०, आरुपाटामा पहिरोमा परी घाइते तीनजनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
गम्भीर घाइते १९ वर्षीया रिमा पुन,२१ वर्षीया सीता थापा र ४६ वर्षकी संगीता बुढालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । बाँकी घाइतेहरूको बुर्तिबाङको अस्पतालमा लगिँदैछ । पहिरोमा बेपत्ता ४ जनाको खोजी जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय अहिले पनि उद्धार जुटिरहेका छन्।
मंगलबार आएको पहिरोले स्थानीय जोगबहादुर बुढाको घर पुरिँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता रहेका छन् । घटनामा परी ९ जना घाइते भएका थिए । पहिरोमा परी १५ वर्षीय विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको छ ।
घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पहिरोले पुरेको हो । पहिरो पन्छाउने क्रममै उनको घटनास्थलमै मृत्यु भएको थियो भने बस्नेतको पहिरोमा पुरिएको अवस्थामा शव भेटिएको थियो ।
त्यस्तै वडा नं १० को आरुपाटा पहिरोले ७ वर्षकी जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढाको मृत्यु भएको छ । सोही घरमा आएकी छिमेकी सञ्जु वि.क की ६ वर्षीया छोरीको पनि मृत्यु भएको छ । सोही घटनामा ५९ वर्षीया मैतीदेवी वि.कको पनि मृत्यु भएको छ ।
तस्बिरः नेपाल प्रहरी