काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना स्थलको निरीक्षण गरेका छन् ।
बिहीबार बिहान मन्त्री पाण्डेसँगै मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतले नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्य चौर पुगेर हेलिकोप्टर दुर्घटना स्थलको निरीक्षण गरेका हुन् ।
सो क्रममा मन्त्री पाण्डेले दुर्घटनास्थलको अवस्थाबारे आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलाई जानकारी गराउँदै पाइलटले हेलिकोप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिएको बताएका छन् ।
बुधबारमात्रै काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसी जाँदै गर्दा नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको थियो ।
जसमा पाइलट र चार जना चिनियाँ नागरिकको मृत्यु भएको थियो । ‘मौसम अनुकुल भएन भनेर पाइलटले हेलिकप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिन्छ,’ मन्त्री पाण्डेले समितिको बैठकमा भने ।
झोर भन्ने स्थानभन्दा माथि भञ्ज्याङ जस्तो ठाउँ रहेको र त्यहीँबाट हेलिकप्टर फर्किने बेला दुर्घटना भएको जस्तो देखिने उनको भनाइ छ ।
उनका अनुसार फर्किने बेला देब्रेतिर मोडिन खोज्दा बुट्यानहरु काटिएको देखिन्छ । त्यसपछि अलि पर दायाँतिरका बुट्यानहरु काटिएका छन् । त्यतातिर त्यतातिर झोलाहरु र जुत्ताहरु खसेको देखिन्छ ।
त्यसको करिब ५० मिटर पर पुगेपछि हेलिकप्टर भुइँमा जोतिएर जलेको देखिएको उनको भनाइ छ ।