काठमाडौं । वेस्टइन्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्स टोलीमा अनुबन्ध भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडी भित्र्याएको हो।
यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ। नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय त्रिनिडाडियन क्रिकेटर एन्डरसन फिलिपले वेस्टइन्डिज टिमबाट थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनी फास्ट बलर हुन्।
१ सय ४० किलोमिटर प्रतिघण्टा तीव्र गतिको औसतमा बलिङ गर्ने फिलिपले पोखराबाट खेल्न उत्साहित रहेको बताएका छन्। एन्डरसन फिलिपलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन्।
एनपीएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदै छ।