काठमाडौं । अखिल नेपाल महिला संघ जिल्ला कमिटी काठमाडौंले ‘नारी संकल्प’ पुस्तक विमोचन गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि अनेमसंघ केन्द्रीय अध्यक्ष टुकाभद्रा हमाल, विशिष्ट अतिथि एमाले पार्टी महासचिव शंकर पोखरेल लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।
अनेमसंघ काठमाडौकी अध्यक्ष भगवती गौतमको अध्यक्षता, हिरा थापाको स्वागत मन्तव्य र पुस्तकको समालोचना साहित्यकार बिनोद मञ्जनले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष हमालले महिलाको सहभागिता राजनीतिमा ३३ प्रतिशतभन्दा माथि जान नसकेकाले सुधारका लागि पहल गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
विशिष्ट अतिथि महासचिव पोखरेलले धार्मिक अतिवादका नाममा हाम्रो सनातन संस्कृतिलाई कमजोर बनाउने काम भइरहेकाले नेपालको मौलिक संस्कृतिलाई संरक्षण र जगेर्ना गर्नुपर्ने आवश्यकता रहेको बताए ।
महासचिव पोखरेलले मुलुकलाई स्थायित्वको दिशातिर लैजान र अर्थतन्त्र बिग्रँदा हतोत्साहित र निराश भएका उद्योगी व्यवसायीलाई उत्साहित बनाई समग्र अवस्था सुधार्न संसदका दुई ठूला पार्टी मिलेर सरकार बनाइएको धारणा राखे ।
महासचिव पोखरेलले पार्टीलाई निर्णायक शक्ति बनाउनका लागि महिलाको भूमिका थप सशक्त बनाउन आवश्यकता रहेको धारणा राखे । कार्यक्रमको सहजीकरण सचिव कमला दाहालले गरेकी थिइन् ।