काठमाडौं । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले पत्रकार महासंघ र नर्सिङ संघका नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिएको छ । अनेमसंघको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा एक समारोहकाबीच बधाई तथा शुभकामना दिइएको हो ।
कार्यक्रममा बोल्दै अनेम संघकी अध्यक्ष टुकाभद्र हमालले महिलाको नेतृत्व एजेण्डा केन्द्रीत हुनुपर्नेमा जोड दिइन् । उनले राज्यको कुनै पनि निकाय, जहाँ महिलाले नेतृत्व गरेका छन् उनीहरुले गरेका काम उदाहरणीय रहँदै आएको बताइन् । त्यसैले ग्रामीण भेगका महिलालाई सबै क्षेत्रको नेतृत्वमा आउन प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नेपालको नर्सिङ क्षेत्रमा भएको विभेदको कारण युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको र यस क्षेत्रको सुधारका लागि काम गर्ने बताइन् । त्यसका लागि मिडिया र संघसँग मिलेर काम गर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले आफ्नो नेतृत्वमा महासंघको आगामी कार्यकालमा महिलाका मुद्दामा सुक्ष्म ढंगले काम गर्ने बताइन् । उनले श्रमजीवी पत्रकारहरुको पारिश्रमिक र सुविधाका बारेमा आफुले काम गर्ने र नर्सिङ क्षेत्रमा भएका विभेद र महिलाका विषयमा महिला संगठनहरू र पेशागत क्षेत्रसंग सहकार्य गर्न सकिने बताइन् ।
कार्यक्रममा अखिल नेपाल महिला संघकी महासचिव एवम् प्रचार तथा प्रकाशन विभागका संयोजनकर्ता शान्ति अधिकारी र उपाध्यक्ष एवम् स्वास्थ्य विभागका संयोजनकर्ता सुमित्रा बिसीले विजयी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रमको सुरूवातमा अनेमसंघका महासचिव पेम्बा लामाले नेपाल पत्रकार महासंघको ७० वर्ष इतिहासको पहिलो पटक महिला अध्यक्ष चुनिनुका साथै महिलाहरूको राम्रो सहभागिता रहेको र अप्ठ्यारो अवस्थामा पनि नेपाल नर्सिङ संघमा प्यानल नै निवार्चित भएकोमा बधाई तथा शुभकामना दिएकी थिइन् ।