चन्द्रकान्त खनाल
रुपन्देही । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दावी गरेका छन् । उनले वर्तमान सरकार बनेसँगै नागरिकमा आशाको सञ्चार भएको पनि बताए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेलले राजश्व परिचालन, पुँजीगत खर्च लगायतका आर्थिक इण्डिकेटरहरु सकारात्मक देखिएको बताए ।
मुलुकमा स्थिर सरकार नहुँदा विकास र समृद्धिमा चुनौती देखिएको बताउँदै स्थिरता, विकास र समृद्धिको लागि संसदका दुई ठूला दलहरु काँग्रेस र एमाले एक ठाउँमा आएको बताए ।
उनले दुई दल बिचको सत्ता सहकार्यले आम नागरिकमा आशाको सञ्चार गरेको पनि भनाई राखे । स्थिरता, विकास, सुशासन, समृद्धिको अभिभारासहित बनेको यो सरकार संसदको बाँकी अवधिको पुरा कार्यकाल जाने पनि दावी गरे ।
उनले बुटवल पूर्वपश्चिम र उत्तर दक्षिणको समेत ट्रान्जिक्ट भएकाले राम्रो सम्भावना रहेको दावी गरे । उनले यहाँका उद्योगी व्यवसायीलाई तत्कालै केही भएन भनेर मन साँघुरो नबनाउन समेत आग्रह गरे ।
मन्त्री पौडेलले राष्ट्रिय अभिभार पुरा गर्न र आफू निर्वाचित भएको क्षेत्रको विकास र समृद्धिका लागि समेत आफू प्रतिवद्ध रहेको बताउँदै निर्माणाधिन बुटवल–नारायणगढ सडक चाडो पुरा हुने विश्वास व्यक्त गरे ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकको सिद्धबाबामा निर्माण हुँदै गरेको सुरुङमार्ग छिटै ब्रेक थ्रु हुने बताउँदै पूर्वपश्चिम राजमार्गको तिनाउमा सिग्नेचर ब्रिज, बुटवल–दाङ सडकको स्तरोन्नती, बुटवलको चौराहा गोलपार्क सडकको निर्माण पुरा हुँदा बुटवलको रौनक अर्कै हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले शिलान्यास भएर रोकिएको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडी बढाउन, खुला सिमाका कारण नेपाली उद्योगी व्यवसायीलाई मार पर्नुको साथै राजश्वमा समेत प्रत्यक्ष प्रभाव गरेको बताउँदै सिमा नाकालाई व्यवस्थित र कडाई गराउन माग गरे । त्यसैगरी बीमाको दावी भुक्तानीमा समस्या रहेको बताउँदै सहज भुक्तानीको वातावरण बनाईदिन समेत उनले मन्त्री पौडेललाई आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका हिसावले सात प्रदेश मध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सम्भावना रहेको बताए । उनले मुलुकमा नीतिगत स्थायित्व नभएका कारण लगानीकर्तामा कन्फिडेन्स विल्डप नभएको पनि बताए ।
त्यसैगरी बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाले यो वर्ष विशेष गरेर बुटवलमा रात्रीकालिन बजार सञ्चालन, मोतिपुर औद्योगिक क्षेत्र निर्माण र समेलारमा यस क्षेत्रकै ठूलो कृषि उपज केन्द्र स्थापनालाई विशेष प्राथमिकता दिइएको जानकारी गराए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजू, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, संघका महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले यस क्षेत्रका आर्थिक तथा व्यवसायिक समस्या औल्याउँदै समाधानका लागि पहल गरिदिन अर्थमन्त्री पौडेललाई आग्रह गरे । त्यसै अवसरमा सहयोगी संघसंस्था तथा उद्योगी व्यवसायीलाई सम्मान गरिएको थियो ।