काठमाडौं । बंगलादेशमा सैनिक कु भएको छ । देशवासीका नाममा केहीबेर अघि सन्देश जारी गर्दै प्रधानसेनापति वाकेर उज जमानले शासन व्यवस्था लिएको घोषणा गरेका छन्।
उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको पुष्टि गर्दै तत्कालै अन्तरिम सरकार गठन हुने पनि घोषणा गरेका छन् । सैनिक कुसँगै प्रधानमन्त्री हसिनाको डेढ दशकको सत्तारोहण समाप्त भएको छ ।
कोटा प्रणालीको खारेजी माग गर्दै विद्यार्थीले सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबारै देश छाेडेकी थिइन् । प्रधानसेनापतिले धैर्य गर्न सबैमा अपिल गरेका छन् ।
असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतबार मात्रै कम्तीमा ९८ जनाले ज्यान गुमाएका थिए । सोमबार चार लाखभन्दा बढी प्रदर्शनकारीले प्रधानमन्त्री, मन्त्री, सांसदहरूको घर र कार्यालय घेराउ गरेका थिए ।