काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले गरेको प्रश्नको जवाफमा उनले अहिलेकै नीति, नियमले बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि बीमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको जानकारी दिए ।
स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आमनागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्नका लागि सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलको भनाइ थियो । मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन पनि सरकार लागिपरेको बताए ।