काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले बुधबार पार्टी घोषणा गर्ने भएका छन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।
त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए । बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुने भएको छ । काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।
सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् ।
दुई नेतासँगको भेटबारे जानकारी दिँदै रावलका सहयोगी गोविन्द दुवालले फेसबुकमा लेखेका छन्, ‘भनिन्छ नयाँ कामको थालनी गर्दा शुभ आरम्भ वा शुभारम्भ हुनुपर्छ र भविष्य पनि सुनौलो हुन्छ।’
रावलसँग भेटेका मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति हुन् भने जोशी नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन्। गएको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि सुदूर पश्चिम प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए।