काठमाडौं । विपक्षी दलहरुले आज पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलनमा आफूहरुका माग र आगामी रणनीतिबारे जानकारी गराउने नेताहरुले बताएका छन् ।
आज दिउँसो २ बजे प्रतिपक्षी दलको बैठक बस्ने र ३ बजे संसद भवन भित्रको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
संसदको नियमित अधिवेशन बोलाउन ढिलो गरेको, संसद अधिवेशन नबोलाएर अध्यादेश जारी गरेको लगायतका मुद्दा उठाउँदै सरकारको आलोचना गर्दै आएका विपक्षीले सत्ता पक्षमै रहेका साना दलहरूको समेत साथ लिएर सरकारविरुद्ध उत्रने रणनीति बनाएका छन् ।
सत्ता गठबन्धनले ६ महिना पार गर्दैगर्दा विपक्षी दलहरूले सरकारप्रति आक्रामक हुने संकेत देखाएका छन् । उनीहरूको संकेतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘मसिना ढुंगा हानेर विशाल नदी थुन्ने प्रयास’ गरेको भनी कटाक्ष गरेका छन् ।