काठमाडौं । अपाङ्गता समावेशी बृहत् यौनिकता शिक्षा कार्यक्रमलाई प्रवर्द्धन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
काठमाडौंमा नेत्रहिन युवा संघ नेपालले राइट हेयर राइट नाउको सहयोगको आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले बृहत् यौनिकता शिक्षामा अपांगता भएका बालबालिका तथा किशोरकिशोरीहरुको पहुँच अत्यन्तै कमजोर रहेकोमा जोड दिए ।
कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका नागरिकको पहुँच विस्तारको बहसमा अब यौनिकता शिक्षाजस्तो संवेदनशिल विषयमा समेत अपाङ्गता भएका बालबालिका तथा किशोरीहरुको पहुँच विस्तारलाई समेत समेटेर बहसलाई अझ सशक्त बढाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेत्रहिन युवा संघ नेपालका कार्यक्रम अधिकृत निर श्रेष्ठले नेपालमा अपांगता भएका बालबालिकाको बृहत्त यौनिकता शिक्षामा पहुँच सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले अपांगता लक्षित सांकेतिक भाषाको विकास र प्रवद्र्धन गर्नुपर्ने, बृहत्त यौनिकता शिक्षा सम्बन्धी सूचना, सञ्चार तथा शैक्षिक सामग्री पहुँचयुक्त ढाँचा र भाषामा विकास र प्रवद्र्धन गर्नुपर्ने, बौद्धिक, अटिजम तथा अन्य सिकाइ सम्बन्धी अपांगता भएका बालबालिकाहरुका लागि पाठ्यक्रम अनुकूलन र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको प्रबन्ध गर्नुपर्ने, अपांगता समावेशी बृहत्त यौनिकता क्षिा कार्यक्रम प्रवद्र्धन गर्नुपर्ने, अपांगता भएका बालबालिका तथा किशोर किशोरीहरुको क्षमता विकास सशक्तिकरण, अपांगतामैत्री किशोर किशोरी सूचना केन्द्रको विकास र प्रवद्र्धन गर्नुपर्ने उनको धारणा थियो ।
यस्तै स्थानीय सरकारले बृहत्त यौनिकता शिक्षा सम्बन्धी पहुँचयुक्त सूचना, सञ्चार तथा शैक्षिक सामग्री विकास र वितरण, सामुदायिक सचेतना कार्यक्रममा जोड दिन उनले आग्रह गरेका थिए ।
कार्यक्रममा नेत्रहिन युवा संघ नेपालका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार कलाधर भण्डारीले आफुहरुले सरकारसँग समन्वय गरेर अपनत्व हुने गरी काम गरिरहेको भन्दै अब तीन वटै सरकारसँग समन्वय गरेर काम गर्न आफुहरु उत्साहित रहेको बताए ।
संघले अपांगता भएका बालबालिका, किशोर किशोरी र यौन तथा प्रजनन् र स्वास्थ्य शिक्षामा काम गरेको उनको भनाइ थियो ।
अहिले संघले ६ वटा विद्यालयमा काम गरिरहेको भन्दै उनले १ सय ३५ जना विद्याथीरुहरु समक्ष पुगेको र २०२५ सम्म थप सात वटा विद्यालयमा पुग्ने योजना रहेको बताए ।
नेत्रहिन युवा संघ नेपालका शंकर उपाध्ययले बृहत्त यौनिक शिक्षाका विषयमा सबैले वकालत गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोकर्णेश्वर नगरपालिकाका शिक्षा तथा समावेशी शाखाका प्रमुख तथा प्रतिनिधिहरुले अपांगता भएका महिला तथा बालबालिकाहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य अत्यन्त आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले आफ्नो संस्थानले अपांगताका क्षेत्रमा पनि बजेट छुट्याएर काम गर्दै आएको बताएका थिए ।
अपांगताका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, शिक्षिकाहरुले अपाङ्गता समावेशी बृहत् यौनिकता शिक्षाका बारेमा शिक्षक तथा अभिभावकहरुलाई पनि तालिमको खाँचो रहेको बताएका थिए ।
कार्यक्रममा अपांगता भएका किशोर किशोरीले यौनशिक्षा सम्बन्धी तालिम लिएपछिका अनुभवहरु सुनाएका थिए ।