बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्व तहबाटै शुरु गरिएको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीले मंगलबार बुटवल उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धि पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा इमानदारिता आवश्यक पर्ने बताए ।
‘रानीतिक नेतृत्व सच्चिन र सुध्रिन जरुरी छ । नियत बेठिक छैन भने व्यूरोक्रायटले पनि साथ दिन्छ । मैले साथ पाइरहेको छु । जुन कार्ययोजना अघि बढाएको छु, त्यसमा मैले पूर्ण साथ सहयोग पाएको छु । उत्साह बढिरहेको छ’उनले भने,‘राजनीतिक नेतृत्वमा समस्याहरु छन । सबै कुरा सच्च्याएर सुधारेर लैजान सकिन्छ । त्यो आँट छ । त्यो आँटका साथ प्रदेश सरकार अघि बढिरहेको छ ।’ आफु नेतृत्वको वर्तमान सरकारले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न केही गरेर देखाउन खोजेको बताए ।
‘हामी केही गरेर देखाउन सक्छौं । बनाउने जिम्मेवारी तपाई हामीको हो । जिम्मेवारी बोकेर आएपछि पुरा गर्नुपर्छ’उनले भने,‘यो मुलुक बनाउन बाहिरबाट कोही आउदैन, जो हामी जिम्मेवारीमा छौं, उसैले नेतृत्व गरेर राम्रो काम गर्नतर्फ भूमिका बढाउनुपर्छ ।’ नागरिक तहमा बढ्दै गएको निरासालाई आशामा बदल्नेगरी प्रदेश सरकारले सुधारका कामहरु अघि बढाएको बताए ।