काठमाडौं । घटस्थापनायताको तीन दिनमा ८९ हजार ७१३ जनाले सडकमार्गबाट काठमाडौं उपत्यका छाडेका छन् ।
ट्राफिक तथ्यांकअनुसार घटस्थापनाको दिन बिहीबार १३ हजार ६२८, शुक्रबार ४७ हजार ६२३ र शनिबार २८ हजार ४६२ ले उपत्यका छाडेका छन् ।
सरकारले १० देखि १२ असोजसम्म त धेरैजसो जिल्लामा रात्रिकालीन बस नै बन्द गरेको थियो । १४ असोजयता उपत्यका छाड्नेको संख्या दुई लाख २३ हजार ९५८ मात्र छ । जब कि यसअघिका वर्षमा घटस्थापनादेखि नै काठमाडौं छाड्नेको संख्या बढ्थ्यो ।
यस अवधिमा दैनिक एक लाखहाराहारीले काठमाडौं छाड्थे । बाढीपहिरोको घटनाअघि ट्राफिक प्रहरीले दसैँ मनाउन १८ लाखले उपत्यका छाड्ने अनुमान गरेको थियो ।